वैचारिक अन्योलमै रास्वपाका २ वर्ष

सरकार, संसद् र संगठन निर्माणमा पनि देखिएन आशालाग्दो नतिजा
असार ७, २०८१ |दीपक आचार्य
वैचारिक अन्योलमै रास्वपाका २ वर्ष

काठमाडौं । परम्परागत राजनीतिक दलहरुले देशमा परिवर्तन गर्न नसकेको भन्दै दुई वर्षअगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवस मनाएको छ ।

‘जान्नेलाई छान्ने’, ‘नो नट अगेन’ जस्ता नारा बोकेर स्थापना भएको यो पार्टीले अझै पनि वैचारिक रुपमा स्पष्ट छैन । स्थापनाको दुई वर्षभित्रै दुईपटक सत्तामा पुगेको यो दल सांगठनिक र वैचारिक मात्रै होइन देशको शासकीय स्वरुपकै विषयमा समेत अन्योलमा छ । जसले गर्दा स्थापनाको दुई वर्षसम्म रास्वपा अलमलमै देखिएको छ ।

पुराना दलहरुबाट राज्य सञ्चालन हुन नसक्ने देश विकास र सेवा प्रवाहलाई चुस्त बनाउन नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको नारासहित दुई वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको थियो । पुराना दल र नेताबाट वाक्क भएका मतदाताले नयाँ पार्टी र युवा नेताका रुपमा रास्वपाका उम्मेदवारहरुलाई चुनावमा राम्रैसँग पत्याए ।

त्यसैका बलमा संसद्‌‌मा बलियो उपस्थिति जनाएको रास्वपा यो दुई वर्षको बीचमा दुईपटक सरकारमा पुग्यो । तर सत्तामा आउनेबित्तिकै धेरै परिवर्तन ल्याउन सक्छौं भनेर विश्वास दिलाएको रास्वपाले अहिले भने वर्षौंदेखि थुप्रिएको फोहोर फाल्न समय लाग्ने भन्ने नयाँ भाष्य तयार पार्न खोजिरहेको छ । गठन भएको दुई वर्षमा उसले नीतिगत, सांगठनिक र वैचारिक धारलाई समेत स्पष्ट पार्न सकेको छैन ।

संविधान स्वीकार गरे पनि संघीयताका विषयमा स्पष्ट नीति लिन सकेको छैन । यद्यपि सभापति रवि लामिछाने बोल्ड निर्णय गरेर जाने ठाउँमा पार्टी पुगेको दाबी गर्नुहुन्छ ।

सभापति लामिछानेको यो भनाइ कार्यकर्ता पंक्तिमा देखिएको निराशा चिर्ने प्रयासका रुपमा बुझ्न सकिन्छ । पुराना दलको तीव्र विरोध गर्दै स्थापित भएको रास्वपा अहिले उनीहरुसँगैको सहकार्यमा छ । तर काम गर्न नसकेको दोष भने सहयात्री दलहरुलाई नै लगाइरहेको छ ।

रास्वपाको कार्यालयमा शीर्ष नेताहरुको जमघट

सरकारमा जस्तै संसद्‌मा के देख्नुभयो त ? काम त खास हुन सकेन नि ! भन्ने प्रश्नको जवाफमा पनि रास्वपाका नेताहरु प्रक्रियालाई दोष लगाइरहेका छन् ।

त्यसो त रास्वपाले स्थापनाको दुई वर्षसम्म पनि संगठन विस्तार र महाधिवेशन गर्न सकेको छैन । स्थापनाका बेला दुई वर्षभित्रै महाधिवेशन गरिसक्ने घोषणा उसले गरेको थियो । देशव्यापी संगठन सञ्जाल निर्माणमा कमजोर नै रहेको रास्वपाका अहिले १२ जिल्लामा समिति छैन । मास बेस्ट पार्टी बनाउने कि क्याडर बेस्ड भन्नेमा अन्योल कायमै छ ।

स्थापनाको ६ महिनाभित्रै संघीय संसद्को निर्वाचनमा लोकप्रिय नारा बोकेर सहभागी भएको रास्वपाले प्रतिनिधिसभामा २० सिट जितेको थियो । त्यसपछि चितवन र तनहुँमा भएको उपनिर्वाचनको परिणामले रास्वपा थप हौसिएको थियो । तनहुँमा रास्वपाले जितेर संसद्‌मा २१ सिट पुर्याएको थियो । तर गत वैशाखमा भएको इलामको उपनिर्वाचनमा रास्वपाले चाहेजस्तो नतिजा ल्याउन सकेन ।

पार्टी स्थापनाअघिदेखि नै विवादित रहँदै आएका सभापति लामिछाने नयाँ-नयाँ विवादमा फस्दै जानुले पनि पार्टीलाई अलमल्याएको छ । रास्वपाका कतिपय आलोचक भन्छन्, रास्वपाको भविष्य यसका सभापति लामिछानेको भविष्यमा निर्भर रहनेछ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।