बजेटमा अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न सकिएन : प्रधानमन्त्री दाहाल

असार ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेटमा अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न सकिएन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री दाहालले संसद्‌को काम, कारबाही नियमित रुपमा सञ्चालन हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको हो ।

‘संघीय संसद्‌मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसद्‌को कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा, नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरे अनुसारको रुपान्तरण गर्न भने सकेनौं,’ उहाँले भन्नुभयो, ‘तर सरकारले नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी बजेटमा तालमेल कायम गर्ने पूरै कोसिस गरिएको छ ।’

उहाँले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरेअनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोसिस गरिएको बताउनुभयो ।

‘बजेट विनियोजन गर्दा बहुवर्षिय स्रोत, सहमति दिइएका आयोजना, आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजना, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने आयोजना, क्रमागत रुपमा रहेका आयोजना तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने कार्यक्रमका प्राथमिकतापूर्वक अनिवार्य रुपमा बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संघीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेको मार्गचित्रबमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन र समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिक तथा क्षेत्रगत विनियोजनबाट प्रस्ट भएकै छ ।’

प्रधानमन्त्री दाहालले थारुलगायत आर्थिक र सामाजिक रुपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

यो पनि...

बजेटमा अपेक्षा गरे अनुसारको रूपान्तरण गर्न सकेनौँ : प्रधानमन्त्री दाहाल

टीकापुर घटनाका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

बजेट सांसदहरुसँग छलफल गरेरै ल्याइएको हो : प्रधानमन्त्री

यसपटकको मेरो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्ने खालको थिएन : प्रधानमन्त्री दाहाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement