सत्ता गठबन्धनभित्र हेपाइमा परेपछि माधव नेपालको छटपटी, निशानामा ओली

वैशाख १८, २०८१ |दशरथ राई
सत्ता गठबन्धनभित्र हेपाइमा परेपछि माधव नेपालको छटपटी, निशानामा ओली

काठमाडौं । सत्ता गठबन्धन दलमै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले गठबन्धन र अझ विशेष गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध कटाक्ष गरिरहनुभएको छ । चाहना नहुँदानहुँदै पार्टीभित्रकै दबाबका कारण वर्तमान गठबन्धन स्वीकार गर्नुभएका नेपाल गठबन्धनका ठुला दल र पार्टीको बहुमत नेताहरुको पेलाईमा परेपछि अहिले के गरौं र कसो गरौंको अवस्थामा हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले स्वयं आफ्नो पार्टीभित्र र गठबन्धनमा पनि अप्ठ्यारोमा पर्नु भएको छ । न उहाँलाई पार्टीभित्रै पूर्ण साथ छ, न त सत्ता गठबन्धनका नेताहरुले नै उहाँलाई वास्ता गरिरहेका छन् । यही कारण पछिल्ला दिनमा उहाँका सार्वजनिक अभिव्यक्ति आक्रोसपूर्ण देखिन थालेका छन् । विशेष गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित उहाँका अभिव्यक्तिमा अहिलेको सत्ता गठबन्धनप्रति तीव्र असन्तुष्टि देखिन्छ । सोमबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीप्रति लक्षित गरी आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोलिरहेको भन्दै कटाक्ष गर्नु भयो ।

एमाले अध्यक्ष ओलीको नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीप्रति लक्षित अभिव्यक्ति नेपालका लागि सबैभन्दा धेरै चित्त दुखाइको विषय बन्ने गरेको छ ।

तर, संसदमा पार्टीको हैसियत र पार्टीभित्रै अध्यक्ष नेपालप्रतिको असन्तुष्टिका कारण उहाँको आक्रामक भाषणले मात्र कसैलाई केही फरक परे जस्तो भने देखिँदैन । 

त्यसो त एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेपछि नेपाल र ओलीबीचको सम्बन्ध कहिल्यै राम्रो छैन । सार्वजनिक कार्यक्रममा हत्तपत्तसँगै नदेखिने यी दुई नेतालाई नयाँ समीकरणले भने बलजफ्ती एक ठाउँमा ल्याइदिएको हो । सरकार टिकाउनु पर्ने बाध्यताले ओली नेपालको घरसम्मै पुग्नुभयो । विश्वासको मत लिने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले नेपालकै घरमा पुगेर सम्मानजनक स्थान दिने सहमति गर्नुभएको थियो । 

नेपालको चाहना अहिलेकै संसदको कार्यकालमा प्रधानमन्त्री बन्ने रहेको थाहा पाएका दाहाल र ओलीले त्यो पनि सहमतिबाटै गर्न सकिने आश्वासन दिनुभएको थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मौखिक सहमति छाँयामा परेको मात्र छैन दाहाल र ओलीले महत्वपूर्ण निर्णय नेपालबाहेक नै गर्दै आउनु भएको छ । दुइ नेताले आफूलाई निर्णय प्रक्रियामा सहभागी नगराएको र संसद्‌को यही अवधिमा प्रधानमन्त्री हुने हुटहुटीमा ठेस लाग्ने हो कि भनेर नेपालले सार्वजनिक रुपमै गठबन्धन र नेताहरुको विरुद्ध बोल्दै आउनुभएको राजनीतिक विश्लेषकको बुझाइ छ ।

आफूलाई वास्था गर्न छाडेपछि नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धनलाई अप्ठ्यारो पार्ने कुरा पनि गर्दै आउनु भएको छ । बाध्यताले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व समाजवादीलाई दिए पनि दाहाल र ओलीले भने अन्य भागबन्डामा नेकपा एसलाई बेवास्ता गरेका छन् ।

सत्ता गठबन्धनका नेताहरुको यो रवैयाका बीच पनि नेकपा एसभित्र अहिले गठबन्धन छाड्नु हुँदैन भन्ने मत बलियो छ । पार्टीभित्रकै दबाबका कारण अघिल्लो दिनसम्म पनि कांग्रेससहितको गठबन्धन चुनावसम्म नै टिक्ने दाबी गरिरहनु भएका नेपाल भोलिपल्टै नयाँ गठबन्धनमा जान बाध्य हुनुभयो । पार्टीभित्र अल्पमतमा पर्ने जोखिम बढेपछि रहर नहुँदानहुँदै बाध्यताले नेपालले वर्तमान गठबन्धन स्वीकार्नुभएको हो । यसरी गठबन्धनको ठूलो दल एमालेको पेलाइ र आफ्नै पार्टीभित्रको दबाबका बीच केही गर्न नसकेपछि नेपालको छटपटाहट बढेको छ र यो बेला-बेलामा विभिन्न मञ्चमा सार्वजनिक पनि हुँदै आएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।