दलहरुमा ४ वर्षपछि हुने चुनावको चर्चा किन ?

कार्तिक ३०, २०८० |प्रकाश बम
दलहरुमा ४ वर्षपछि हुने चुनावको चर्चा किन ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको एक वर्ष पनि पूरा भएको छैन । जनता निर्वाचनमा राजनीतिक दलहरुले गरेका प्रतिबद्धता पूरा भएको हेर्न प्रतीक्षारत छन् । दलहरु भने आफूले पाएको जनमतको सदुपयोग गर्नुको साटो अहिलेदेखि नै चार वर्षपछि हुने आमनिर्वाचनको राग अलापिरहेका छन् ।

कसैले मिसन चौरासी अभियान चलाएका छन् भने कतिले पार्टी संगठन चलायमान बनाउने नाममा चुनावलक्षित कार्यक्रम गरिरहेका छन् । यस्तोमा नागरिक अगुवाले भने दलहरुको नियत र कार्यदक्षतामाथि नै प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनमा आफ्नो दल पहिलो पार्टी बन्ने दाबी मात्र गरेनन्, बलियो सरकार गठनको प्रतिबद्धता जनाए । जनताका समस्या बुझ्न भन्दै पुगेका दाहालले आफ्नो कार्यकालको समीक्षाभन्दा चार वर्षपछिको चुनावको चिन्ता गरे ।

देशको प्रमुख कार्यकारी भूमिकामा रहेका उनले जनतालाई तत्काल परेका समस्या समाधानको कुनै प्रतिबद्धता जनाउन सकेनन् । यसले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई अहिले नै आगामी निर्वाचनको चिन्ता हुन थालिसकेको पुष्टि हुन्छ । तर माओवादी सचिव देवेन्द्र पौडेलले भने चुनावलाई भन्दा सरकारले जनताका कामलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

त्यसो त प्रमुख प्रतिपक्षी नेकपा एमाले मिसन २०८४ अभियानै लिएर गाउँगाउँमा पुगेको छ । अहिलेको राजनीतिक समीकरणअनुसार आफू सत्तामा पुग्न नसक्ने देखेपछि एमालेले गत निर्वाचनमा गरेका प्रतिबद्धता भुलेर आगामी निर्वाचन लक्षित कार्यक्रम अघि बढाएको हो ।

संसद्‌को ठूलो दल नेपाली कांग्रेसलाई समेत २०८४ को चिन्ताले सताइसकेको छ । संगठन सुदृढीकरणका नाममा आगामी निर्वाचन लक्षित कार्यक्रम गर्दै आएको कांग्रेसले सत्तामा बसेर जनतालाई दिन सकिने सेवाबारे सोच्न सकेको छैन । न त प्रधानमन्त्रीलाई उत्तरदायी नै बनाउन सकेको छ । संघसहित सातै प्रदेश सरकारमा सहभागी र आधाभन्दा धेरै स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताका तत्कालका आवश्यकता पूरा गर्न ध्यान दिएको देखिँदैन । कांग्रेस महामन्त्री गगन थापा भने आगामी निर्वाचनको चिन्ताभन्दा अहिले नै काम गरेर देखाउनु पर्ने तर्क गर्छन् ।

पुराना मात्र होइन, नयाँ दल पनि आगामी चुनाव केन्द्रित अभियानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अभिव्यक्ति चार वर्षपछिको चुनाव लक्षित छन् । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री भने तत्काल काम गर्न नसकेर फेसनका रुपमा केही दलले आगामी चुनावको नारा अघि सारेको तर्क गर्छिन् ।

राजनीतिक दलहरुले चार वर्षपछिको चुनाव लक्षित अभियान चलाउनुलाई नागरिक अगुवा श्याम श्रेष्ठले सहज मानेका छैनन् । विगतमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा जनताबाट टाढिँदै जाँदाको छटपटीका रुपमा बुझ्नुपर्ने तर्क उनको छ ।

राजनीतिक दलहरुको काम गर्ने शैलीबाट नागरिकमा चरम निराशा छ । जनतालाई तत्काल महसुस हुने गरी सुधारका काम गरे दलहरुले चार वर्षपछि हुने चुनावको अहिले नै चिन्ता गर्नुपर्ने देखिँदैन । 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।