काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरैको धेरै चिज गुम्यो ।
घरजग्गा, खेतबारीमात्र होइन धेरैले परिवार र आफन्त गुमाए । अझ कलिला धेरै बालबालिकाले आमाबुबा गुमाएका छन् । महिला बालबालिका मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार रसुवा र नुवाकोटका होल्डिङ्ग सेन्टरहरुमा अहिले करिब एक हजार बालबालिका छन् ।
तीमध्ये आमाबुबा गुमाएका कति बालबालिका छन् भन्ने यकिन विवरण आइसकेको छैन । सरकारले करिब ५ सय बालबालिकालाई अस्थायी र दीर्घकालीन हेरचाहको लागि तयारी गरेको छ ।
ती साहरा गुमाएका बालबालिकालाई कहाँ र कसरी व्यवस्थापन गरिँदैछ ?
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार रसुवाको उत्तरगया होल्डिङ सेन्टरमा मात्र बाढीबाट बुबाआमा गुमाएका ५६ जना बालबालिका रहेका छन् । अन्य होल्डिङ सेन्टरमा संरक्षक गुमाएका कति बालबालिका छन् भने तथ्याङ्क संकनल भइरहेको छ ।
बाढीबाट बुबाआमा वा संरक्षक गुमाएका बालबालिका स्थानीय तह र सम्बन्धित जिल्लाको बाल कल्याण समितिको निर्णयपछि काठमाडौं ल्याएर व्यवस्थापन गरिने छ । महिला बालबालिका मन्त्रालयअनुसार संरक्षक नभएका बालबालिकालाई सुरुमा ललितपुरको ठेचोंमा रहेको नेपाल बाल संगठनमा ल्याएर अस्थायी हेरचाह गरिनेछ ।
त्यसपछि पारिवारिक लेखाजोखा गरी काठमाडौं उपत्यकाका २३ वटा बालगृहमा पाँच सयको हाराहारीमा त्यस्ता बालबालिका राख्ने गरी व्यवस्था मिलाइएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । बाढीका कारण आमाबुबा तथा संरक्षकविहीन बालबालिकाको शिक्षादिक्षाको जिम्मा राज्यले लिने शिक्षा मन्त्रालयले जनाएको छ ।
त्यस्ता बालबालिकाहरु कति छन् भनेर तथ्यांक संकलन भइरहेको र संरक्षकविहीन बालबालिकाका लागि निजी तथा संस्थागत विद्यालयहरुसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । नजिकैको माध्यामिक विद्यालयलाई आवासीय सुविधासहित बन्दोबस्त गरेर भए पनि बालबालिकाको व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ ।
त्यसो त यस्तो विपद्को विषम परिस्थितिमा बाबुआमा दुवै गुमाएका बालबालिका बेचबिखन या मानव तस्करीको पहुँचमा पुग्न सक्ने जोखिमतर्फ पनि सचेत हुनुपर्ने यसक्षेत्रका अगुवाहरुको सुझाव छ । बालबालिकालाई एकद्वार प्रणालीमार्फत पारिवारिक लेखाजोखा गरेर मात्र बालग्राम तथा बाल गृहहरुलाई रेखदेखको जिम्मा लगााउने मन्त्रालयको तयारी छ ।
भक्तपुरको सानोठिमीमा रहेको एसओएस बालग्रामले बाबुआमा गुमाएका करिब ५० जना बालबालिकाको रेखदेखको जिम्मा लिने भएको छ । दीघकालीन रुपमा राख्नुपर्ने बालबालिकालाई २३ वर्ष उम्मेरसम्म लालनपालनसहित शिक्षादिने दिने बालग्रामले जनाएको छ ।
घर परिवारविहीन बालबालिकाको सर्वोत्तम हितका लागि उचित स्याहार र मनोपरामर्शसहित दीगो व्यवस्थापनका लागि ढिला गर्नुहुँदैन ।