मानव बेचविखनका मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्छ : अध्यक्ष मगर

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मानव बेचविखनका मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्छ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्ने बताउनुभएको छ ।

सोमबार आयोगले तयार पारेको मानव बेचबिखन विरूद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजानिक गर्दै उहाँले मुद्दाको फैसला छिटो हुँदा पीडितले राहत पाउने बताउनुभएको हो । उहाँले अधिकांश मद्दाहरूमा अदालत न्याय निरूपण हुन ढिलाइ हुने गरेको गुनासो बढेको बताउनु भयो । 

उहाँले छिटो न्याय सुनिश्चित गर्न कानुनी प्रक्रिया सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार वार्षिक रूपमा कम्तिमा ३५१ जना बेचविखनमा पर्ने गरेका छन् । उनीहरू सबैले अदालतमा मुद्दा दायर गरे पनि कतिको मुद्दा अझै टुंगोमा नपुगेको उहाँको भनाइ छ । 

नेपालमा ७७ मध्ये ७० जिल्लाका नागरिक मानव बेचबिखनबाट प्रभावित रहेको अध्यक्ष मगरले बताउनु भयो । विशेषगरी सिमान्तकृत र विपन्न वर्गका मानिसहरू बढी जोखिममा रहेको उहाँको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको काम सरकारको भएको उहाँले बताउनु भयो । तर, सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको उहाँको भनाइ छ । 

अध्यक्ष मगरले सरकारलाई आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले आयोगले गरेका सिफारिसहरू कार्यान्वयन नगरेसम्म समस्या समाधान नहुने बताउनु भयो । सरकारबाट प्रयास भइरहेको दाबी गरिए पनि आयोगका सुझाव कार्यान्वयनमा कमजोरी रहेको उहाँको भनाइ छ । 

उहाँले मानव तस्करहरूले विशेषगरी महिला तथा बालबालिकालाई झुटा प्रलोभनमा पारेर बेचविखन गरिरहेको उल्लेख गर्नुभयो । यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । यसको लागि सरकारले आर्थिक सुधार, रोजगारी सिर्जना र जनचेतना अभिवृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणको लागि सीमाक्षेत्रमा संघसंस्थाहरूले काम गरिरह पनि अझ सक्रियता आवश्यक रहेको बताउनु भयो । आयोगले सोमबार मानव बेचबिखन विरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२ सार्वजानिक गरेको हो । 

प्रतिवेदनमा मानव बेचबिखनका प्रक्रिया, त्यसको कारण र रोकथामका लागि सरकारले गर्नुपर्ने सुझावहरू उल्लेख छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी बालबालिकाहरू बेचबिखनमा परेका छन् । रोजगारीको प्रभोलनमा पारी नेपालीहरूलाई विदेशमा लगेर अवैध कल सेन्टरमा काम लगाउने, महिलाहरूको डिम्ब तस्करी गर्ने तथा रात्रिकालीन व्यवसायमा लगाउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै लामा पठाउने नाममा बालकहरूको तस्करी हुने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय चिनियाँहरूसँग विवाह गर्ने प्रलोभनमा पनि धेरै नेपालीहरू बेचबिखनमा परको अयोगले जनाएको छ । आयोगका अनुसार परम्पारगतसँगै मानव बेचबिखनका नयाँ आयामहरु समेत देखिएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.