
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यसअघिको सदन खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कांग्रेस, नेकपा र एमालेका शीर्ष नेतृत्वहरूको निवासमा संसद् बन्दी बनाइँदा सिद्धान्त कमजोर बनेकोतर्फ संकेत गर्दै अब त्यस्तो नहुने उहाँको भनाइ छ ।
नेपालले दक्षिण एसियाकै उत्कृष्ट सदन पाएको भन्दै उहाँले संस्कार, संस्कृति र सिद्धान्तअनुसार अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सदनलाई मन लागे सहभागी हुने र मन नलागे सहभागी नहुने चिया चौतारीजस्तो बनाइनु नहुनेतर्फ समेत सबैको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले मुलुकमा सुशासन कायम गर्दै समृद्धिको मार्गमा अघि बढाउन सबैको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।