सातामा दुई दिन सरकारी बिदा दिने निर्णय व्यवहारिक नभएको विद्यालय सञ्चालकहरूको भनाइ

बिदालक्षित प्याकेज ल्याउन व्यवसायीलाई पर्यटन बोर्डको आग्रह
चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सातामा दुई दिन सरकारी बिदा दिने निर्णय व्यवहारिक नभएको विद्यालय सञ्चालकहरूको भनाइ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सरकारको यो निर्णयले प्रारम्भिक रूपमा शिक्षा क्षेत्र र न्यून आय भएका वर्गमा गम्भीर असर पार्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । पश्चिम एसियामा जारी द्वद्वका कारण सिर्जित विश्वव्यापी ऊर्जा संकटको प्रभाव नेपालमा देखिए पनि दुई दिन बिदा दिने निर्णय अव्यवहारिक हुने उनीहरूको भनाइ छ । 

शनिबार र आइतबार बिदा दिँदा वर्षभरिको कुल बिदा १०४ दिन पुग्ने र अन्य धार्मिक तथा सांस्कृतिक बिदा थपिँदा कार्यदिनभन्दा बिदाको दिन धेरै हुने देखिएको हो । सरकारले निर्दिष्ट गरेको विस्तृत पाठ्यक्रम निर्धारित समयमा पूरा नहुने र विद्यार्थीको सिकाइ उपलब्धीमा ह्रास आउने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपालका उपाध्यक्ष विष्णु पराजुलीले बताउनु भयो । 

यस्तै, सार्वजनिक सेवा प्रवाहका लागि निर्धारण गरिएको बिहान ९ देखि साँझ ५ बजेसम्मको समय पनि अव्यवहारिक देखिएको छ । बिहानको समयमा घरायसी काम र बालबालिकाको व्यवस्थापन गर्नुपर्ने भएकाले कर्मचारी र सेवाग्राही दुवैका लागि ९ बजे नै कार्यालय पुग्नु चुनौतीपूर्ण हुने पनि उपाध्यक्ष पराजुलीले दाबी गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई लक्षित गरेर व्यवसायीले प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले दुई दिने सरकारी बिदा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताउनु भयो । 

सरकारको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । नेपालमा पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले ती क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउने उहाँको भनाइ छ । जोशीका अनुसार अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने छ । 

कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.