
काठमाडौं । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्था र पार्टीका पूर्व जिल्ला सभापतिहरूले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पूर्वाग्रहपूर्ण रूपमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार भक्तपुरमा बसेको बैठकमा तरूण दल, अपांग संघलगायत भातृ संस्था तथा पूर्वजिल्ला सभापति र पूर्व सांसदहरूको बैठकले जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा छानबिन नगरी प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको घटनाले देश झन् द्वन्द्वतर्फ अघि बढ्ने भन्दै तत्काल रिहा गर्न आग्रह गरेको हो ।
बैठकले आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण भन्दै निष्पक्ष छानबिनको माग गर्दै अब कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । मुलुकको विषम परिस्थितिमा कांग्रेस एकताका लागि अघि बढ्नुपर्ने र त्यसका लागि निरन्तर खवरदारी गरिरहनुपर्ने धारणा पनि सहभागीले राखेका थिए ।