
काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने भएको छ ।
शनिबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रत्येक जिल्ला सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूका तर्फबाट विरोध प्रदर्शन गर्ने, आइतबार १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।
यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिनुभयो । एमालेले भदौ २३ र २४ को घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरेको छ ।
जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहानै ओली गुण्डुबाट पक्राउ पर्नुभएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको सिफारिसमध्ये सुरक्षाकर्मीहरू जोडिएको विषयमा अध्ययन गर्न कार्यदल बनाउने तथा बाँकीका हकमा तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसपछि प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर शनिबार बिहान ओलीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राति नै गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना प्रहरी प्रधान कार्यालय पुगेका थिए । गृहले ओली र लेखकबारे आयोगको सिफारिस कार्यान्वयनको प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।
त्यसपछि प्रहरीले गृहको निर्देशनअनुसार सिफारिस कार्यान्वयन यथाशिघ्र अगाडि बढाउन उपत्यका प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो । पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले शुक्रबार मध्यरातिसम्म सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुभएको थियो ।
ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्री तहका व्यक्तिका पक्राउ गरिएको यो पहिलो घटना हो ।