निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीस्थित आफ्नो निवासमा फर्कनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटार फर्केर धापासीस्थित निवासमा फर्कनुभएको हो । निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।”

जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्‍याउने विश्वास लिनुभएको छ । साथै, उहाँले यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित नयाँ सरकार गठन गर्नुभएको थियो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.