
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक समारोहकाबीच उहाँलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरूलगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित हुनुभएको थियो । उहाँ ७८ वर्षको हुनुहुन्छ । राष्ट्रपतिबाट सपथ लिनुभएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार प्रतिनिधि सभाका सदस्यहरूलाई सपथ ग्रहण गराउनुहुनेछ ।
सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरू निर्वाचित हुनुभएको छ ।