
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनमार्फत सानदार जित हासिल गरेकोमा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाइ दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहबीच फोन वार्ता भएको हो । फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाइ दिएको प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले नयाँ सरकार र नेपाल-भारतबीचको परस्पर हित र समृद्धिका लागि सहकार्यका लागि शुभकामना दिएको समेत उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास व्यक्त गर्दै सहकार्यको अपील गर्नुभएको छ ।
फोनवार्तापछि रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले रास्वपाले अघि सारेको विकास कूटनीतिलाई प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्दिका लागि मिलेर काम गर्ने लामिछानेले बताउनुभएको छ ।
कनेक्टिभिटी र वाणिज्य तथा ऊर्जाको विषयमा मिलेर काम गर्न चाहेको पनि सभापति लामिछनेले उल्लेख गर्नु भएको छ । यसैगरी, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले पनि निर्वाचनमार्फत् भारी जनमत प्राप्त गरेकोमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जालमार्फत बधाइ दिँदै उहाँले दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको बताउनुभएको छ ।