पोखरामा व्यवस्थित बसपार्कको एजेन्डा पाँच दशक पुरानो

काम नहुँदा पर्यटकीय राजधानीको बसपार्क अस्तव्यस्त
फाल्गुन २५, २०८२ |इन्द्र पौडेल|भुपाल गुरुङ
पोखरामा व्यवस्थित बसपार्कको एजेन्डा पाँच दशक पुरानो

पोखरा । पोखरामा व्यवस्थित बसपार्कको एजेन्डा पुरानै हो । 

पाँच दशकदेखिको यो चर्चा निर्वाचनका बेला त झन् खुब चल्छ । हरेक चुनावमा भोट बैंक बनेको यो बसपार्कको दृश्यले पर्यटकीय राजधानीलाई गिज्याइरहेको मात्रै छैन ट्राफिक व्यवस्थापनका लागि पनि ठूलो चुनौती बनेको छ ।

पटकपटक डीपीआर बनेर थन्किँदै आएको यो बसपार्क निर्माणमा राजनीतिक इच्छाशक्तिकै कारण अहिलेसम्म बन्न नसकेको स्थानीय नै बताउँछन् । बसपार्क व्यवस्थित नहुँदा पोखराको प्रवेशद्वारमै सडकमा सवारी साधान रोकेर यात्रु चढाउने र ओराल्नुपर्ने बाध्यता छ । 

बसपार्कका जग्गामा अतिक्रमण गरी बनेका अस्थाय टिहराले कुरूपता मात्रै झल्काएको छैन, ट्राफिक व्यवस्थापन पनि ठूलो चुनौती बनेको छ। २०३३ सालमा सरकारले बसपार्क बनाउन अतिग्रहण गरेको २ सय ५ रोपनी जग्गा अहिले खुम्चिएर ४० रोपनी मात्र खुल्ला ठाउँ बाँकी छ । 

बसपार्कमा अहिले लालपूर्जाधारी, पोखरा एयरपोर्टका क्रममा सारिएका र २०५४ सालपछि बसोबास गर्न थालेका सुकुम्बासी गरी ३ थरिका बासिन्दा छन् । अहिले यहाँ बसपार्क नबन्नुको प्रमुख कारण सुकुम्बासीको व्यवस्थापन बनेको छ । स्थानीय बसपार्क बनाउन र उचित व्यवस्थापन भए सर्न तयार पनि छन् तर, राजनीतिक दलहरु नै रूचि देखाउँदैनन् । 

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको उक्त जग्गाको संरक्षण नहुँदा दिनप्रतिदिन बसपार्कको जग्गा घट्दै छ । सुकुम्बासी हटाएर व्यवस्थापन गरे भोट घट्ने भय दलहरुमा छ । बसपार्क बनाउने प्रयास नै नभएको भने होइन। २०६१ सालमा तत्कालीन प्रधानन्त्री सूर्यबहादुर थापाले सुकुम्बासी व्यवस्थापन गरेर पोखरा बसपार्क निर्माण गर्ने मन्त्रिपरिषद्ले निर्णय गर्‍यो। 

२०६५ सालमा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले १० करोड रुपैयाँ विनियोजन गर्नुभयो । डिजाइन तयार गरेर बनाउन सुरू गर्ने बेलामा सरकार परिवर्तन भयो । २०७५ सालमा पोखरा महानगरले छानबिन समिति बनाएर २ सय ५ मध्ये ४० रोपनी मात्रै सुरक्षित रहेको प्रतिवेदन तयार पार्‍यो । 

उक्त प्रतिवेदनले १ सय ४ जनासाग लालपुर्जा रहेको र ४० रोपनीमात्रै अब बसपार्कका लागि प्रयोगमा आउने बताउँदै सिटी बसपार्कको अवधारणा अघि सार्‍यो । तर बसपार्क निर्माणको काम अघि बढ्न सकेको छैन । पोखरा बसपार्क रहेको यो क्षेत्र प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ क्षेत्र नम्बर २ 'क' मा पर्छ । 

यही क्षेत्रबाट चुनाव जितेर गएकाहरू संघीयदेखि प्रदेशस्तरसम्म मन्त्री भइसकेका छन् । यसअघि यही क्षेत्रबाटै चुनाव जितेका कांग्रेसका महादेव गुरुङ, एमालेका स्वर्गीय रवीन्द्र अधिकारी, विद्या भट्टराई मन्त्री भए भने दुई पटक गण्डकी प्रदेश सभा सदस्य बनेका कांग्रेसका विन्दुकुमार थापा अहिले पनि मन्त्री हुनुहुन्छ ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।