
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनपश्चात् देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन आयोगकाअनुसार मुगु जिल्लाबाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो । मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य सुरु गर्न ढिलाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिबार बिहान मात्रै सकिएको हो । हाल सर्वदलीय बैठक बसेको र अपरान्ह ४ बजेदेखि मतगणना सुचारू हुने जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिबार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो ।
ती दुवै जिल्लामा अहिले मतगणना सुरु भइसकेको उहाँले बताउनु भयो । आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
शनिबारदेखि मतगणना सुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आइतबार साँझसम्म सार्वजनिक गरिसक्ने उहाँको भनाइ छ । प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।