
अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि अर्घाखाँचीमा मतदानस्थलमा खटिएका मतदान अधिकृतहरूले साेमबार बिहानैदेखि धमाधम मतदान सामग्री बुझ्न थालेका छन्।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीबाट मतदान अधिकृत तथा कर्मचारीहरूले मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली, फारामलगायत आवश्यक सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी कृष्ण बर्माले जानकारी दिनुभयो।
आयोगले तोकिएको मितिमा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो । सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई आवश्यक निर्देशन समेत दिइएको छ।
निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको र मतदानको दिन मतदातालाई सहज वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभयो। अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता छन्।
जिल्लामा १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्ररहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलले बताउनु भयो । निर्वाचन सम्पन्न गराउन जिल्लामा १ हजार २ सय ५९ जना कर्मचारी खटिएका छन्।