
धनुषा । निर्वाचनको मिति नजिकिँदै गएपछि धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू कार्यालय बन्द गरेर हिँडेपछि सेवाग्राहीहरू समस्या परेका छन् ।
कुनै प्रकारको सूचना र जानकारी बिनानै जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको कामकाज बन्द गरी निर्वाचनमा केन्द्रित भएका कारण सेवाग्राहीहरू समस्यामा परेका हुन् । अति आवश्यक कामकाज लिएर विभिन्न वडा र गाउँका सेवाग्राहीहरू नगरपालिकाको कार्यालयमा आउने गरे पनि निराश भएर फर्किन बाध्य भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन गराउन कर्मचारीहरू खटिएका कारण यस्तो स्थिति देखिएको कमला नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामभगत यादवले जानकारी दिनुभयो । जनप्रतिनिधिहरू बीचको विवादका कारण कमला नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको नगर सभा र बजेट पारित समेत गर्न सकेको छैन ।
बजेट ल्याउन नसकेकै कारण विगत आठ महिनादेखि शिक्षक, कर्मचारीलगायत ज्येष्ठ नागरिकसहितका लक्षित वर्ग सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएका हुन् ।