
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मीका बीच देखिएको दल परिवर्तनले चुनावी समीकरणबारे नयाँ बहस सुरू भएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र मितेरी पार्टी नेपालका उम्मेदवारसहित ५५ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपछि यसको प्रभाव कति पर्ला भन्ने चासो बढेको हो । नेकपा केन्द्रीय सदस्य जीवनराज थापाका अनुसार, प्रलोपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेकपा प्रवेश गर्नुभएको छ ।
शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला संयोजक अमरसिंह विष्टसहित ५४ जना नेता कार्यकर्ता नेकपामा समाहित हुनु भएको बताइएको छ । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । यस्तै, मितेरी पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सियाराम रानाले पनि नेकपा प्रवेश गर्नु भएको छ ।
२७ वर्षीय जेन-जी पुस्ताका उम्मेदवार रानाले नेकपामा समाहीत भएको घोषणा गर्नु भएको छ । दुई जना उम्मेदवारसहित केही नेता कार्यकर्ताहरू नेकपा प्रवेश गर्नुले कञ्चनपुर क्षेत्र नं १ मा नेकपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिना मगरलाई कति सहयोग पुग्ला वा अन्य उम्मेदवारलाई कति ठूलो चुनावी प्रभाव पार्ला भन्ने विषयमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
केहीले यसलाई नेकपाका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई प्रतीकात्मक मात्रै ठानेका छन् । चुनावी नतिजाले नै यसको वास्तविक असर देखाउने विश्लेषण पनि भइरहेको छ ।