स्याङ्जा-१ मा कांग्रेस-एमाले आमनेसामने, रास्वपा र नेकपाको पनि दाबेदारी

फाल्गुन १३, २०८२ |रोशन लामिछाने
स्याङ्जा-१ मा कांग्रेस-एमाले आमनेसामने, रास्वपा र नेकपाको पनि दाबेदारी

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक दलहरूको सक्रियता बढेको छ । 

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवार चुनावी मैदानमा छन् । मतदान गर्ने मिति नजिकिएसँगै स्याङ्जा क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा देखिएका छन् । 

कांग्रेसबाट भरतराज ढकाल, एमालेबाट मिनप्रसाद गुर"ङ र रास्वपाबाट धनन्जय रेग्मी चुनावी मैदानमा रहेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राप्रपाबाट हुकुमबहादुर राना पनि चुनावी प्रतिस्पर्धामा छन् । १ लाख ३० हजार मतदाता रहेको स्याङ्जा क्षेत्र नम्बर १ मा अघिल्लो निर्वाचनको मतभारलाई विश्लेषण गर्दै उम्मेदवारहरू यसपटक आफूले जित्ने बताइरहेका छन् ।

२०७९ सालको निर्वाचनमा चार दलको सहयोगमा कांग्रेसका राजु थापा विजयी हुँदा एमालेका नारायणप्रसाद मरासिनी उपविजेता हुनुभएको थियो । निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरू भने पुरानै मुद्दा लिएर मत मागिरहेका छन् । यसअघि पटक पटक कांग्रेस र एमाले उम्मेदवारले जितेको यो क्षेत्रमा रास्वपा र नेकपा उम्मेदवार पनि जितको पालो कुरेर बसेका छन् । 

यो निर्वाचन क्षेत्रमा तकालिन माओवादी केन्द्रबाट २०७० मा उम्मेदवार बनेका घिमिरेबाहेक अरू सबै नयाँ अनुहार हुन् । स्याङ्जा १ मा २०७० र २०७९ मा कांग्रेस र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए ।


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।