निर्माण व्यवसायीलाई रविको जवाफ : ‘डोरीले होइन, कानुनले बाँध्ने भनेको हो’

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्माण व्यवसायीलाई रविको जवाफ : ‘डोरीले होइन, कानुनले बाँध्ने भनेको हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरूलाई दुई-तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिनुभयो । 

सभापति लामिछानेले अब कानुनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभइ कानुनले नै बाँधेर काम गराइने बताउनु भयो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बाटो नबनाउने निर्माण व्यवसायीलाई रूखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिनुभएको थियो । शाहको अभिव्यक्ति विरूद्ध नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामीछानेले प्रष्टिकरण दिनुभएको हो । 

उहाँले अब देश विकास निर्माणको बाटोमा अघि बढ्ने भएकोले सुरक्षाको चिन्ता नगरी उपकरण खरिदमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै दुई दशकसम्म सत्ता र पदमा बसेका बेलामा काम गर्ने र अहिले आएर मात्रै सडक निर्माणका लागि कानुन फेर्नुपर्ने ज्ञान आएको टिप्प्णी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.