
काठमाडौं । फागुन २१ गते हुने मतदानका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगमा शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइदेखि अत्यावश्यक सामग्री जोहो गर्ने काम पूरा भैसकेको जानकारी दिनुभयो । मतपत्र छपाइ सम्पन्न भई ढुवानी सुरू भएको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने उहाँको दाबी छ ।
उहाँले फागुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको बताउनुभयो । यसपटकको निर्वाचनमा ९ लाख ५० हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदाताको संख्या एक करोड ९० लाखभन्दा बढी छ ।
प्रतिनिधि सभा सदस्यका लागि १६५ वटै निर्वाचन क्षेत्रमा फागुन २१ गते चुनाव हुँदैछ । निर्वाचन आयोगले फागुन ३ गतेभित्र दलहरूलाई घोषणापत्र ल्याइसक्न निर्देशन दिएको छ भने मतदाता शिक्षा कार्यक्रम पनि आइतबारदेखि सुरु हुँदैछ ।