अर्घाखाँचीमा निर्वाचन प्रहरीको तालिम सम्पन्न

बुधबारदेखि नै सम्बन्धित निर्वाचन क्षेत्र र प्रहरीचौकीमा खटाइयो
माघ २८, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा निर्वाचन प्रहरीको तालिम सम्पन्न

अर्घाखाँची । आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम सम्पन्न भएको छ। 

तालिम सम्पन्न भएसँगै निर्वाचन प्रहरीहरू बुधबारदेखि नै सम्बन्धित क्षेत्र तथा प्रहरी चौकीहरूमा खटिएका छन् । निर्वाचन प्रहरीले नजिक भएका मतदान केन्द्रहरूमा प्रहरीसँगै गस्ती गर्ने प्रहरीले जनाएको छ। अर्घाखाँचीमा फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न १२ सय ६५ जना निर्वाचन प्रहरी भर्ना भएका छन् । 

निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र सुरक्षित बनाउने उद्देश्यले आयोजित उक्त तालिममा निर्वाचनसम्बन्धी कानुन, आचारसंहिता, मतदानस्थलको सुरक्षा व्यवस्थापन, विवाद समाधान र समन्वयात्मक कार्यशैलीबारे प्रशिक्षण दिइएको छ। साथै, सम्भावित संवेदनशील परिस्थितिमा कसरी संयमित र व्यावसायिक ढंगले काम गर्ने भन्ने विषयमा पनि विशेष अभ्यास गराइएको अर्घाखाँची जिल्लाका प्रहरी प्रमुख दिवस बहादुर जिसीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार तालिमले सहभागीहरूलाई व्यवहारिक तथा कानुनी पक्षमा दक्ष बनाएको विश्वास लिइएको छ। प्रशिक्षित निर्वाचन प्रहरीहरूलाई आवश्यक स्थानमा खटाई निर्वाचन अवधिभर सुरक्षा, अनुगमन तथा समन्वयको जिम्मेवारी दिएको बताइएको छ। निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।