.png&w=1000&height=550)
अर्घाखाँची । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहितासम्बन्धी सर्वपक्षीय छलफल गरेको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको विषयमा छलफल गरिएको थियो। छलफलमा जिल्लास्थित राजनीतिक दल, स्थानीय निकायका जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षण दिँदै मुख्य निर्वाचन अधिकृत शिबलाल पाण्डेले निर्वाचन आचारसंहिता सबै सरोकारवालाले इमान्दारिताका साथ पालना गर्नुपर्नेमा जोड दिँदै, उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पानुभयो । छलफलका क्रममा सहभागीहरूले निर्वाचन अवधिमा गर्न नहुने गतिविधि, प्रचार–प्रसारका मापदण्ड, सामाजिक सञ्जालको बढ्दो प्रयोग, सरकारी स्रोतसाधनको दुरूपयोग रोक्ने उपाय लगायतका विषयमा सुझाव तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रमले निर्वाचन आचारसंहिता प्रति सरोकारवालाहरूको बुझाइ अभिवृद्धि गर्नुका साथै जिम्मेवार भूमिका निर्वाह गर्न मद्दत पुगेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो ।