देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका ४९ उम्मेदवारहरूले नाम फिर्ता लिएकाे जनाएकाे छ ।

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिनुभएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ । भट्टराईको तर्फबाट पार्टी प्रतिनिधि नारायण खत्रीले उम्मेदवारी फिर्ता लिनुभएको क्षेत्र नं २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । योसँगै गोरखा क्षेत्र नं २ मा १३ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका रोल्पाका दुई जनाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका आसबहादुर पुन र दलबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विनोद खतिवडाले जानकारी दिनुभएको छ ।

रोल्पामा दुई स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका थिए । दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै जिल्ला १० राजनीति दल चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । रूकुम पुर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका अमर सिं पुनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रूकुम पूर्वले उहाँको नाम हटाएर बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित ११ जना उम्मेदवार कायम भएका छन् ।

उता बर्दियाको दुईवटै क्षेत्रबाट तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ मा एक र २ मा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु राना भाट रहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो । 

यस क्षेत्रमा २१ जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवारले नाम फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेत्र आचार्य र स्वतन्त्र उम्मेदवार नुतुन कुमार चौधरीले फिर्ता लिएको क्षेत्र नम्बर २ का सहायक मतदान अधिकृत विष्णु चन्द्र नेपालीले बताउनुभयो । 

आम जनता पार्टीका रामेश्वर चौधरीको कालो सूचीमा कर्जा सम्बन्धी मुद्दा भएकोले उम्मेदवारी खारेज गरिएको उहाँले बताउनुभयो । तनहुँ निर्वाचन क्षेत्र नम्बर-२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।

उम्मेदवारी फिर्ता लिएका गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गर्नुभएको छ । यसैगरी एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङको पक्षमा समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.