गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । 

पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाएर चुनावी प्रचारमा जाने निर्णय गरेको हो । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी ९ दिनपछि पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् । नयाँ पदाधिकारीसहितको टिम सानेपा पुग्दा कार्यकर्ताको ठूलो भीड लागेको थियो ।

सभापति थापाले आफ्नो कार्यकक्षमा पूजाआजा गरी प्रवेश गर्नुभएको थियो । सभापतिको कार्यकक्षमा सभापतिका रूपमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको तस्बिर पनि राखिएको छ । केन्द्रीय समिति बैठकले आसन्न निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलले कांग्रेसले शुक्रबार गरेको निर्णयले देशभर तरंग ल्याउने दाबी गर्नुभयो ।

देशभर नयाँ तरंग सिर्जना गर्न र मतदाता आकर्षित गर्न बैठकको निर्णय महत्वपूर्ण हुने पनि उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेसले सभापति थापालाई सर्लाही-४ बाट उम्मेदवार बनाएको छ । थापा पुस ३० गते कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.