अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

माघ ६, २०८२ |रासस
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिनुभएको छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उहाँहरू उम्मेदवार बन्नुभएको हो ।

हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ ।

यसअघि उहाँहरूले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नु अघि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जामन्त्री घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्नुभएको छ । उहाँ त्यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । घिसिङ काठमाडाैं निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको उज्यालो पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री गुप्ता जेन-जी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट आफूले उम्मेदवारी दिन लागेको गुप्ताले जानकारी दिनुभयो । पूर्वसञ्चारमन्त्री खरेल दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । 

मन्त्री बन्नुअघि उहाँले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हाल्नुएको थियो । खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले आजै पार्टी आबद्धताको प्रतीक चिन्ह प्रदान गर्नुभएको छ । उहाँले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिइसक्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।