
काठमाडौं । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड धरौटी माग गरेको छ ।
जिल्ला अदालत वीरगञ्जका न्यायाधीश रूद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको हो । लामिछाने मंगलबार जनकपुरबाट सिधैं पर्सा जिल्ला अदालतमा उपस्थित हुनुभएको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेको हो ।
अब लामिछानेले धरौटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने अदालतले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो ।
लामिछानेमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनालाई प्रतिवादि बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।