
काठमाडौं । देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने क्रम जारी छ । अपराह्न साढे ३ बजेसम्म १४ सय उम्मेदवारहरूले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
दलका शीर्ष नेताहरू अधिकांशले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी झापा-५ बाटै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले मनोनयन दर्ता गराउनुभएको छ । यो क्षेत्रमा नेकपाले रन्जीत तामाङलाई उठाएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहालले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पटक-पटक निर्वाचन क्षेत्र परिवर्तन गरिरहने दाहाल यसपटक रुकुमपूर्व पुग्नुभएको हो । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीबाट मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । सर्लाही पुग्न ढिला हुने भएकाले थापाले वारेसमार्फत उम्मेदवारी दिनुहुनेछ ।
यता उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं-३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौं-१ मा एमालेबाट मोहनराज रेग्मी तथा राप्रपाबाट रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौं-५ बाट एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, एमाले महासचिव शंकर पोखरेलले दाङ-२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । शिक्षामन्त्रीबाट राजीनामा दिनुभएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेबाट आरसी लामिछानेले गोरखा-१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
नेकपाका तर्फबाट रोल्पामा वर्षमान पुन, गोरखा-२ मा लेखनाथ न्याौपाने, चितवन-३ मा रेनु दाहाल, बझाङमा मीनबहादुर कुँवर तथा डोल्पामा लंक रोकायले उम्मेदवारी दिनुभएको छ । गोरखा-२ मा रास्वपाका तर्फबाट कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट चक्रे मिलनको उम्मेदवारी दर्ता भएको छ । भक्तपुरमा पनि उम्मेदवारी दिनेक्रम जारी छ ।
भक्तपुर-२ मा नेकपा एमालेका महेश बस्नेतले उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपाबाट रामप्रसाद सापकोटाको उम्मेदवारी परेको छ । नेकपाका नेता वर्षमान पुनले रोल्पाबाट मनोनयन गराउनुभएको छ । सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
चितवन-२ मा एमालेका अश्विन घिमिरेको उम्मेदवारी दर्ता भएको छ । ध्रुबबहादुर प्रधानले नवलपरासी-२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । इलाम -२ बाट एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । गुल्मी-१ बाट एमालेका नेता प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने भोजपुरबाट एमाले सचिव शेरधन राइले पनि मनोनयन दर्ता गराउनुभएको छ ।
महोत्तरी-३ मा एमालेका मनोज सिंहको उम्मेदवारी दर्ता भएको छ भने एमालेकै बागी उम्मेदवार रामआधार कापरले पनि उम्मेदवारी दिनुभएको छ । रास्वपाबाट हेमराज थापाले बाजुराबाट र बसन्त भट्टले रसुवाबाट उम्मेदवारी दिनुभएको छ । कैलाली-५ मा नेकपाबाट प्रेम आलेको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा-२ मा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ।