
दाङ । स्तरोन्नतिको क्रममा रहेको दाङको घोराही-तुलसीपुर चार लेन सडकमा पर्ने बिजुलीका पोल व्यवस्थापनको काम सुरू भएको छ ।
गत मंसिर १ गतेदेखि सडक स्तरोन्नतिको काम चलिरहँदा सडक क्षेत्रबाट हटाउनुपर्ने नौ सय ९३ वटा पोल व्यवस्थापनको काम सुरू भएको हो । सडक सीमाभित्र भएका पोल व्यवस्थापन नहुँदा काम गर्न अफ्ठ्यारो भएको गुनासो बढ्न थालेपछि सार्न थालिएको चारलेन सडक आयोजना कार्यालयले जनाएको छ ।
यो सडकमा माटो भरेर रोलर लगाउने कामसमेत धमाधम भइरहेको छ । यो सडक किनारमा रहेका ३ थरिका बिजुलीका पोल हटाउने काम ठेकेदार कम्पनीकै भएको र त्यसको रेखदेख विद्युत् कार्यालयले गरिरहेको छ । घोराही-तुलसीपुर २१ दशमलव ५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न झन्डै चार अर्ब लागत अनुमान गरिएकोमा भ्याटसहित दिवा/वन्दन भगवती जेभि निर्माण कम्पनीले २ अर्ब ५२ करोड ३७ लाखमा ठेक्का पाएको छ ।
३६ महिनाको समयअवधि रहेको घोराही तुलसीपुर चारलेन सडक २०८५ असार २३ सम्पन्न गर्नेगरी गत असार २३ गते ठेकेदारसँग सम्झौता भएको छ ।