शीतलहर र चिसोले रौतहटको जनजीवन कष्टकर

पशुचौपायासँगै हिउँदै बालीमा समेत असर
पुस २२, २०८२ |राजेश्वर पाण्डे
शीतलहर र चिसोले रौतहटको जनजीवन कष्टकर

रौतहट । शीतलहर र अत्यधिक चिसोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । 

पुस पहिलो सातादेखि सुरू भएको जाडोको कारण जनजीवन प्रभावित बनेको हो । रौतहटमा पनि बढ्दै गइरहेको शीतलहर र चिसोले दैनिक काम गरी गुजारा गर्ने वर्गलाई धेरै सास्ती भएको छ । मधेशको हिउँदे बाली गहुँ, दाल तथा देलहनको उत्पादनसमेत प्रभावित हुने भन्दै किसानले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पश्चिमी वायुसँगै बढेको शीतलहरका कारण यतिखेर तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बिहानदेखि बेलुकासम्मै बाक्लो हुस्सु लागेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो। कठ्याँग्रिने चिसोको कारण मानिसको चहलपहल कम भए पछि रौतहटको सदरमुकम गौरलगायतका बजारसमेत सुनसान देखिन्छन् । चिसोको प्रभावबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।

चिसोका कारण गाउँबाट बजार आउने मानिस घटेपछि अहिले बजार क्षेत्रको व्यापारसमेत ओरालो लागेको छ। मजदुरहरूलाई पनि चिसोले प्रभावित बनाएको छ। जसको असर उनीहरूको दैनिक गुजारामा परेको छ । चिसोको असर सडकमा चल्ने सवारीसाधनमा समेत देखिएको छ । 

सडकमा कम सवारी गुडेका छन्। स्थानीयहरू आगो तापेर चिसोबाट जोगिने प्रयास गरिरहेका छन्। शीतलहरका कारण समस्यामा परेका मजदुर र पहुँचविहीन वर्गलाई स्थानीय सरकारले सम्वोधन गर्न सकेको छैन्। उनीहरूको हरेक वर्ष "शीतलहर र चिसोसित" पौठेजोरी खेल्दैमा बित्ने गरेको छ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।