
काठमाडौं। देशभर आज पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले तराइमधेशमा हुस्सु लाग्नेछ भने हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो पनि तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसैबीच मध्य पुस कटेसँगै देशभर तापक्रम घट्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम चार डिग्रीमा झरेको छ ।
विभागमा आज राति अभिलेख गरिएको तापक्रमको विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र मुस्ताङको जोमसोममा माइनस चार दशमलव पाँच डिग्री तापक्रम रहेको छ । त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन् ।