
रौतहट । चिसो र शीतलहरले तराइमधेशको जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्लो चार दिनदेखि तराइका अधिकांश क्षेत्रमा घाम लागेको छैन ।
मधेशतराइमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ । सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी र हवाई उडान समेत प्रभावित भएको छ ।
पछिल्लो समय तराइमधेशमा तापक्रम १५ देखि १७ डिग्री सेल्सियस आसपास रहँदै आएको छ । चीसो बढेपछि मधेशका शहरबजार सुनसान बनेका छन् भने गरिव र बिपन्नलाई थप समस्या भएको छ । यसैबीच चिसो हावा र शीतलहर चल्न थालेको ५ दिन पछि जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न चोक चौराहा र सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ ।
वर्षेनी शीतलहर र चिसोले तराईका नागरिकको जनजीवन कष्टकर हुने गरे पनि पर्याप्त ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसैबीच रौतहटको गौर नगरपालिकाले नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गदै पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो ।