जनकपुरमा दर्जनौं दूध डेरी दर्ताविहीन र मापदण्ड विपरीत सञ्चालनमा, एक महिनाभित्र दर्ता गर्न निर्देशन

मंसिर २२, २०८२ |अनिल मिश्र
जनकपुरमा दर्जनौं दूध डेरी दर्ताविहीन र मापदण्ड विपरीत सञ्चालनमा, एक महिनाभित्र दर्ता गर्न निर्देशन

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा दर्ता विनानै मापदण्ड विपरीत दूध डेरीहरू सञ्चालनमा रहेको पाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले दूधको शुद्धता र गुणस्तर जाँचका लागि सुरू गरेको अनुगमनको क्रममा दूध बिक्रीवितरणका लागि खोलिएका डेरीहरू दर्ता विनानै मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हाे ।

उपभोक्तालाई शुद्ध र सुरक्षित दूध उपलब्ध गराउने उद्देश्यका साथ थालिएको अनुगमनको पहिलो दिनमै जनकुरधाम उपमहानगरपालिका भित्र रहेको राजीव डेरी देशी दूध घर, आदेश दूध बिक्री केन्द्र, टुपे डेरी, दूध डेरी, गंगा देवी दूध डेरी फर्म लगायतका डेरीहर" दर्ता विनानै खुला दूध र दुग्ध जन्य सामग्री बिक्रीवितरण गर्दै आएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नासु प्रविण तिवारीले जानकारी दिनुभयो । 

मापदण्ड पूरा गरी एक महिना भित्र दर्ता गराउन भनिएको र त्यसो नगरेमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने तिवारीको भनाइ छ । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका रमेश दाहाल, प्रवीण कुमार तिवारी, प्रदीप संग्रोला, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह, जिल्ला प्रशासन कार्यालयका नासु सुनिल झा र पशु सेवा विज्ञ केन्द्रका विनोद पाण्डे लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकतामा राखी दूध तथा डेरी उत्पादनको शुद्धता सुनिश्चित गर्न दुधको स्वच्छता, मिठापन, फ्याट स्तर, पानी मिसावट तथा गुणस्तर मापदण्ड पूरा भए-नभएको विषयमा विस्तृत परीक्षण गरिएको बताइएको छ । बजार अनुगमन अभियान निरन्तर जारी रहने जनाएको छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।