
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको औपचारिक थालनी गरेको छ ।
नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक विशेष समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलगायतको सहभागीतामा निर्माण थालनी गरिएको हो । कार्यक्रममा मन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता रहने बताउनु भयो ।
१८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल-भारत सीमासँग जोड्ने करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ ।
ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन २०२४ अन्तर्गत स्वच्छ जलविद्युत भारत निर्यात गर्नमा नेपाललाई सघाउ पुर्याउने एमसिए नेपालले विश्वास लिएको छ । आयोजना सम्पन्न भएपछि यसले देशका लागि विद्युत् आपूर्ति थप भरपर्दो बनाउनुका साथै विद्युत् चुहावट घटाउने एमसीए नेपालले एक विज्ञप्तिमार्फत दाबी गरेको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने महत्वपूर्ण भुमिका खेल्नेछ, जसबाट व्यवसाय सञ्चालन खर्च घट्ने, नयाँ निजी लगानी आकर्षित हुने र राष्ट्रिय विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजश्व आर्जन हुने अपेक्षा एमसीए नेपालले गरेको छ ।