
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको हसंपुर रतनमारेका गन्धर्व समुदायले मादल बनाएर राम्रो आम्दानी गरिरहेका छन् । खास गरी दशैं, तिहार तीजजस्ता चाडपर्वमा बिक्री हुने मादलबाट प्रतिपरिवार ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।
यो कमाइले वर्षभरि घरखर्चदेखि बालबच्चा पढाइ खर्चसमेत धान्ने गरेको छ । यहाँ बनेका मादलले अर्घाखाँची, गुल्मी,प्युठानसम्मको माग धान्ने गरेको छ । आकारअनुसार एउटा मादलको १८ सयदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको मालारानीका मादल व्यवसायी ताराबहादुर नेपालीले बताउनुभयो ।
आधुनिकतासँगै परम्परागत बाजाको आकर्षण कम हुँदै गए पनि चार्डपर्व सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्धमा भने अझै मादलको माग छ । अर्घाखाँचीमा गन्धर्व समुदायका ६० जनाभन्दा धेरैले मादललगायतका बाजा बनाउने पेशा गर्दै आएका छन् ।