छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । लोक आस्थाको पर्व छठको आज महत्वपूर्ण दिन हो । आजको दिनलाई सौजका अर्घ्य भनिन्छ । अर्थात् आज अस्ताउँदो सूर्यलाई ब्रतालुहरूले अर्घ्य दिइँदैछ । 

उदाउँदो सूर्यलाई प्रतिदिन जसो हिन्दु धर्मावलम्वीहरूले पूजा आराधना गर्दछन् । तर छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ । षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइसकेपछि ब्रतालु र उनका पारिवारिक सदस्यहरू प्रसाद सामग्रीसहित रात्रि सम्पूर्ण नदीनाला तालतलैया र सरोवरकै घाटमा रात्रि विश्राम गर्दछन् । 

मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । आयतबार खरना विधिसम्म घरमै पूजापाठ भएको यस पर्वमा आजदेखि नदीनाला तालतलैया र सरोवरको घाटहरूमा पूजापाठ हुने गर्दछ । जसका लागि पोखरीका घाटहरू तालतलैया र नदीनालाका घाटहरू घरभन्दा पनि बेहुली जस्तै सजाइएका छन् । सफासुदर बनाइएको छ । 

यस पर्वमा प्रयोग हुने केरा, उखु, ठकुवा भूसवासहित स्थानीयस्तरमै उत्पादन हुने प्राकृतिक रूपमा आफ्नै करेसाबारी र खेतीपातीमा उत्पादन हुने प्रसादका रूपमा चढाइने सम्पूर्ण प्रसादका सामग्रीहरू लिएर घरका पुरूष वर्ग पोखरी र तालतलैयाका घाटहरूमा पुगिरहेका छन् । ब्रतालु महिलाहरू पनि घाटमा पुग्ने क्रम निरन्तर जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.