काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछाने युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरूद्धको पहिलो टी-२० आई खेलमा बेञ्चमा सीमित हुनुको कारण क्यानसँगको विवाद रहेको खुलेको छ ।
खेलपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीपले व्यक्तिगत कारण खेल गुमाएको बताएका थिए । तर सन्दीपले आफू केन्द्रीय सम्झौतामा अनुबन्धित नभएका कारण हाल राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको नाम र लोगोअंकित जर्सी लगाएर खेल्न अस्वीकार गरेको क्यान स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सन्दीपले यसअघि नै नासा सेक्युरिटीले आफूसँग छुट्टै सम्झौता गर्नुपर्ने माग गरेका थिए । माग पुरा नभएपछि सन्दीपले खेल खेल्न अस्वीकार गरेको स्रोतको दाबी छ ।
यस सिरिजका लागि क्यानले राष्ट्रिय टोली घोषणा गर्दा अन्तिम टोलीमा सन्दीपको नाम सामेल थियो । तर खेलअघि सार्वजनिक गरिएको प्लेइङ-११ मा सन्दीपलाई वैकल्पिक खेलाडीको सूचीमा समेत सामेल गरिएको थिएन ।
शनिबार सम्पन्न खेलमा नेपालले पहिलो पटक टेस्ट टोलीलाई पराजित गर्ने क्रममा वेस्ट इन्डिजलाई १९ रनले स्तब्ध पारेको थियो । हाल ३ खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ ।
जितपछि सन्दीपले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिए पनि आफू नखेल्नुको कारण भने सार्वजनिक गरेका छैनन् ।