क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न बनाइएको कोषमा सहयोग गर्न सरकारी आह्वान

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न बनाइएको कोषमा सहयोग गर्न सरकारी आह्वान

काठमाडौैँ ।  सरकारले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न बनाइएको कोषमा सहयोग गर्न आह्वान गरेको छ । यही असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो। 

आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्वदेश तथा विदेशमा रहेका नेपाली, दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्थाहरु तथा निजी क्षेत्रलाई कोषमा सहयोग गर्न आह्वान गर्नुभएको हो । कोषमा जम्मा हुने रकम पारदर्शी रुपमा खर्च गरिने उहाँको भनाइ छ । अर्थमन्त्री रामेश्वर खनालले आन्तरिक स्रोतबाटै पुनर्निर्माण सुरु गरिने उल्लेख गर्दै नपुग बजेट अर्थ मन्त्रालयले दिन सक्ने बताउनुभयो । 

पुनर्निर्माण राज्यको प्राथमिकता रहेकाले कसैको सहयोग नकुरीकन काम सुरु गरिसकिएको उहाँको भनाइ छ। क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको छ । अर्थमन्त्री अध्यक्ष रहने समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समितिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्ययोजनाको तर्जुमा तथा स्वीकृत गर्ने पनि मन्त्री घिसिङले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.