लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली : प्रधानमन्त्री कार्की

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन-जी पुस्ताको आन्दोलन गरिएका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको बताउनु भयो ।

अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरू यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उहाँले बताउनु भयो ।

यी एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो । आफू कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको बताउनु भयो । संविधान दिवस केबल उत्सव मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.