सल्यान । पछिल्लो समय पानीका मुहान सुक्दै र हराउँदै जाँदा पहाडी बस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ ।
खानेपानी अभावकै कारण थातथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता छ । केही सयम अघिसम्म सल्यानको स्यानिखालका नागरिकलाई पनि यस्तै समस्या थियो । ५ सयभन्दा बढी घरधुरी रहेको स्यानिखालमा अहिले लिफ्ट प्रणालीमार्फत घरघरमा पानी पुगेपछि स्थानीयको मुहार फेरिएको छ ।
शारदा नगरपालिका-१३ स्यानिखालकी ७० वर्षीया बिष्णी बुढाले जीवनको लामो कालखण्ड खानेपानीका लागि संघर्षमै बिताउनुभयो । भालेको डाँकसँगै डोकामा गाग्री बोकेर पानी बोक्नु उहाँको बाध्यता थियो ।
तुल्सी रोकालाई पनि वर्षौंसम्म कुवा, खोल्सा, पधेरो चहारेर पानी बोकेका दिन अझै ताजै छन् । अब भने समय फेरिएको छ । शारदा नदीबाट लिफ्ट प्रणालीमार्फत घरघरमा धारासहित खानेपानी पुगेपछि गाउँलेले पहिलेका सबै दुख बिर्सिएका छन् ।
शारदा नगरपालिका-१३ स्यानीखालका ५ गाउँका ५ सय घरधुरीका नागरिक लामो समय पानीका लागि चरम संकट भोग्न बाध्य थिए । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौं समय खर्चनु पर्दथ्यो ।
पानीको चरम संकट भएपछि यस क्षेत्रलाई नगरपालिकाले केही वर्ष पहिले सुक्खा क्षेत्र घोषणा गरेको थियो । श्री शारदा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था शारदा नगरपालिका-१३ मार्फत वडाका स्यानिखाल, चलाउने पानी, लेकटाकुरा, बागमारे, अत्तरकाँडा, साझखर्क र जोगिचौरमा लिफ्ट प्रणालीमार्फत खानेपानी योजना सञ्चालनमा आएको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको करिब ७ करोड रूपैयाँ बजेटमा शारदा नदीको मोख्लामा मुहान त्रिस्तरी लिफ्ट प्रणालीमार्फत खानेपानी योजना निर्माण गरिएको छ ।
मुहानदेखि ५ सय ५० मिटर उचाइबाट २३ सय मिटर पाइपलाइनमार्फत गाउँमा पानी पुर्याइएको छ । ५ सय घरधुरीलाई पुग्नेगरी १ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ ।
घरको धारामा चौबिसै घण्टा पानी आइरहँदा स्थानीयको पुस्तौंदेखिको सपना पूरा भएको छ । नगरपालिका भए पनि विकट यो गाउँमा खानेपानी योजना सफल भएको छ ।