मिथिला मधेशमा आज गणेश चतुर्थी र चौरचन पर्व मनाईदै

भाद्र १०, २०८२ |अनिल मिश्र
मिथिला मधेशमा आज गणेश चतुर्थी र चौरचन पर्व मनाईदै

जनकपुरधाम/ मिथिला मधेशमा आज गणेश चतुर्थी र चौरचन पर्व आस्था र विश्वासका साथ मनाईदै छ । विघ्नहर्ता भगवान् गणेश र चन्द्रमाले जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्दि र सकारात्मक ऊर्जासहित पार लगाउने प्रेरणा र आस्था जागृत गर्ने विश्वाससहित पर्व मनाईदै छ ।

यस पर्वमा हातमा काक्रो, स्याउ, केरा लगायतका फलफुल लिएर चन्द्रमालाई ढोग्ने चलन रहेको छ । स्वास्थ्य, समृद्दि र दिर्घायुको कामना गर्दै मनाईने यस पर्वमा पुरुकीया, खजुरीया, खीर पुरी, दही लगायतका परिकारका साथ‌ै मिथिलाको गाउँ घरमा पाईने काँक्रो, मक‌ैको बाला, निबुवा,केरा,सरिफा सहितका फलफुल डालामा राखी चन्द्रमालाई अर्घा चढाइन्छ ।

भक्तिभाव, प्रकृति र संस्कृतिको गहिरो सम्बन्ध रहेका कारण चौरचण पर्वलाई सामाजिक एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयता बढाउने माध्यमको रूपमा लिने गरिन्छ । यस पर्वले दिएको शान्ति, सद्भाव, श्रद्दा र समर्पणको सन्देशले समाजलाई अझ सबल, समृद्द र उन्नत बनाउने मार्गदर्शकको रुपमा लिने गरेको जानकारहरुको भनाइ छ ।

जनकपुरधाम लगायतका स्थानमा गणेशको प्रतिमा बनाएर धुमधामका साथ मनाईने गणेश पुजा पनि सुरु भएको छ । यस पर्वको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक सन्देश जारी गर्दै देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी र देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।