आज सातै प्रदेशमा भारी वर्षाको संभावना

मनसुनको न्यून चापीय रेखा तराइ आसपास रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने
श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज सातै प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सातै प्रदेशमा भारी वर्षाको संभावना रहेको छ । विशेषगरि सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना छ । यसैगरि लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। आज देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। मनसुन सक्रिय भएका कारण सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.