सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी माधवराज खरेलले आफ्नै क्वार्टरमा काम गर्ने कार्यालय सहयोगी शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट बर्खास्त गरेको घटना सार्वजनिक भएको छ।
पीडित कार्कीले मिडिया र मानव अधिकारकर्मीहरूलाई न्यायका लागि गुहार गरेपछि घटना सार्वजनिक भएको हो। कार्कीकाअनुसार गत बिहिबार दिउँसो २ बजे डिएसपी खरेल खानाका लागि क्वार्टर पुगेका बेला भाँडाकुडामा रोटी-तरकारी बनाएर दिए पनि बासी रोटी दिएको भन्दै डीएसपीले अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको कार्कीको आरोप छ।
पीडित कार्कीले आफू निर्दोष रहेको र घटनाको सत्यतथ्य बुझ्न सीसीटीभी फुटेज जाँचको माग गरेका छन् । तर कार्कीको गतिविधीले प्रहरी संगठनको 'चेन अफ कमाण्ड'मा प्रतिकुल असर पर्नजाने र विभागीय कारबाही भन्दै उनलाई बर्खास्त गरिएको प्रहरीले जनाएको छ।
डिएसपी खरेलले मात्र नभै कार्कीलाई प्रहरी निरीक्षक रूपेश शाहले समेत कुटपिट गरेको बुझिएको छ। साउन २३ गते आमाको मासिक श्राद्धमा समेत घर जान नपाएका कार्कीलाई मंगलबार 'अनुशासनहीन कार्य'को आरोपमा बर्खास्त पत्र थमाइएको पिडितको दाबी छ।