काठमाडौं । ललितपुरका नेवार समुदायले साेमबार परम्परागत साँस्कृतिक नेकु मतया जात्रा मनाएका छन् । वर्षभरि दिवंगत भएकाहरू सुखावती भुवनमा बास गरून् भन्ने कामना गर्दै मृतकका परिवार तथा आफन्तले पाटनका बौद्ध बिहार, चैत्य, स्तुपालगायत मन्दिरहरूको परिक्रमा गरी मनाएका हुन् ।
मतया जात्रामा सहभागी भए परिवार र मृतात्माले सुख शान्ति पाउने जनविश्वास छ । मंगलबजारबाट सोमबार बिहान ५ बजे सुरू भएको मतया जात्राअन्तर्गत ललितपुर नगरबाहिर चार दिशामा रहेका बौद्ध विहार तथा मन्दिरहरुका साथै घर, आँगन, चोकभित्रका चैत्य बुद्धमूर्तिहरूको परिक्रमा गर्ने चलन छ ।
बासुरी खिंलगायत परम्परागत विभिन्न बाजागाजा समूहका साथ सहभागी भक्तजनले बुद्ध मूर्तिमा अक्षताले पूजा गरी दान दक्षिणा र मृतकको फोटोसहितको पर्चा सामग्री चढाउने चलन छ ।
मतया जात्रामा सहभागी हुँदा मृतात्माले शान्ति पाउनेमात्र होइन परिवारजनले समेत दु:खपीडा भुल्ने र सुख शान्ति तथा पूण्यप्राप्ति हुने जनविश्वास छ । मतया अर्थात् दीप बत्ती तथा धुप बालेर जात्रामा सहभागी हुने चलन छ ।
जात्रामा शोकमा परेका परिवारको दु:ख-पीडा भुल्न र सान्त्वना दिन विभिन्न झाँकीका साथ ख्याल र व्यङ्ग्यात्मक प्रदर्शनसमेत प्रस्तुत गर्ने गरिन्छ ।
जात्रा पूरा गर्न सहभागीलाई १५ घण्टाभन्दा बढी समय लागेको थियो। तत्कालीन राजा बालचन्द्र देवका पालामा पाटनका १० टोलका जनता सहभागी गराएर जात्रा सुरू गरेको मानिन्छ ।
भगवान बुद्धले इन्द्रियहरुमाथि नियन्त्रण प्राप्त गरेको दिनको सम्झनामा समेत बौद्ध धर्मावलम्बीहरूले मतया जात्रालाई विशेष पर्वका रूपमा मनाउने गर्दछन् ।