काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, हिन्दु धर्मावलम्बीले साेमबार विशेष महत्त्वका साथ भगवान शिवको पूजाआराधना गर्दैछन् ।
आज बिहानैदेखि पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधामसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। पुर्वको पशुपतिनाथ मानिएको झापाको अर्जुनधारा जलेश्वरधाममा आज बिहानैदेखि दर्शनार्थिको भिड लागेको छ ।
शिवभगवानका भक्तहरू बिहान तीनबजेदेखि नै लाईनमा बसेर भगवानको पुजा आरधना गरिरहेका छन् । अर्जुनधारा दर्शन र पूजाका लागि नेपालको झापा, मोरङ, सुनसुरी र इलामका साथै भारतको सिक्किम, दार्जिलिङसम्मबाट पनि दर्शनार्थी आउने गरेका छन् ।
श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वारका रुपमा भक्तजनले लिने गरेका छन् । यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्।
शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्याउँछ।