काठमाडौं । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकप्रति गम्भीर सरोकार जनाउँदै काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विधेयक मिडियाको हित र गरिमा अभिवृद्धि गर्नेभन्दा नियन्त्रणमुखी देखिएको भन्दै गम्भीर आपत्ति जनाएका थिए।
कार्यक्रम सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षता, महासचिव बोधराज त्रिपाठीको सञ्चालन तथा कार्यक्रम संयोजक धर्मराज भुसालको विषय प्रवेशसहित सम्पन्न भएको हो।
अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतले प्रस्तावित विधेयकका विविध पक्षमा आ–आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले यथास्थितिमा विधेयक जारी गर्न नहुनेमा जोड दिँदै मिडिया काउन्सिल सञ्चालक, श्रमजीवी पत्रकार र सरोकारवालाबीचको उच्चस्तरीय संयोजनकारी संयन्त्र बन्नुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष महेश स्वार, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त, राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. चापागाईंलगायतको उपस्थिति रहेको थियो।
नेपाल मिडिया सोसाइटीले सरोकारवालासँग थप परामर्श गरी विधेयकमा आवश्यक संशोधनसहितको औपचारिक धारणा सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।