सवारी साधनमा असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

श्रावण २०, २०८२ |विकास आचार्य
सवारी साधनमा असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । 

मंगलबार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।

यसैगरी सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेष्ठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ आषाढ मसान्त सम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन सुरू गर्ने गरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकोमा भाद्र मसान्तभित्र यथाशीघ्र छपाइ सुरू गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बागमति प्रदेश र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सुचारू गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ ।

बैठकले १० वर्ष अवधीको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरूलाई डिजिटलाईज गर्ने, भुक्तानी प्रकृयालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फस्र्यौटलाई प्रभावकारी बनाउने, राईड शेयरीङ्बारे एकरूपता कायम गरी लागु गर्ने लगायतका निर्णय पनि गरेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।