काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको त्रुटि छानबिन गर्न गठित संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित सात सदस्यीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज दूरालाई राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गर्दै प्रतिवेदन बुझाएको हो । सभापति परियारले मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि प्रतिवेदन पेस गर्नुहुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
समितिका सभापति खतिवडाले पदीय र कानुनी जिम्मेवारीका हिसाबले पदमा बस्न नमिल्ने निष्कर्ष समितिले निकालेको छ । त्यसैगरी समिति सचिव दुरालाई हस्ताक्षरकर्ता र जिम्मेवारीका हिसाबले काम गर्न नसकेकाले संसद् सेवा कानुनअनुसार कारवाही गर्न सिफारिस गरेको छ ।
मुख्य सचिव एकनारायण अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले पदीय आचरणअनुसार काम नगरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा त्रुटि हुनुमा समग्र राज्यव्यवस्था समितिका सदस्यहरू पनि जिम्मेवार हुने ठहर विशेष समितिले गरेको छ ।
छानबिन गर्न २१ दिनको समय पाएको विशेष समितिलाई एक साता थप गरेर सर्वसम्मत प्रतिवेदन तयार पारेको हो ।