कटहरीको महेशपुरमा भारतीय रेल्वे स्टेशन निर्माण सुरू, डेढ वर्षभित्र सम्पन्न गर्ने तयारी

श्रावण १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कटहरीको महेशपुरमा भारतीय रेल्वे स्टेशन निर्माण सुरू, डेढ वर्षभित्र सम्पन्न गर्ने तयारी

काठमाडौं । भारतीय रेल्वेले मोरङको कटहरी गाउँपालिका वडा नम्बर एकस्थित महेशपुरमा रेल स्टेशन बनाउन सुरू गरेको छ ।

दुई देशीय व्यापार सहज बनाउन भारत सरकारले बिहारको पूर्णियादेखि मोरङको कटहरीसम्म रेल्वे लाइन बनाइदिने भएको थियो । तर कटहरीका स्थानीयले मुआब्जामा चित्त नबुझाएर सर्वोच्चमा मुद्दा दायर गरेका कारण विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित एकीकृत जाँचचौकीदेखि कटहरीको महेशपुरसम्म रेल्वे लाइन निर्माण सम्पन्न हुन सकेको थिएन । 

त्यस्तै महेशपुरमा रेल्वे स्टेशनको संरचना निर्माणको काम सुरू नै हुन सकेको थिएन । सर्वोच्च अदालतले रिट खारेज गरेपछि भारतीय पक्षले काम सुरू गरेको हो । अहिले भारतीय पक्षले रेल्वे स्टेशनको जमिनमा घेरबेराको काम अघि बढाएको छ । 

रेल्वे स्टेशनका लागि अधिग्रहण गरेको ६६ बिघा जमिनमा पिल्लर गाड्ने र तारजालीले घेर्ने काम भइरहेको छ । रेल्वे स्टेशनका संरचना निर्माणका लागि भारतीय पक्षले लागत स्टिमेटको काम समेत गरिरहेको छ । लागत स्टिमेटपछि रेल्वे स्टेसनका भवन लगायतका संरचना निर्माणका लागि ठेक्का लगाउने तयारी छ ।

भदौभित्र घेराबेराको काम सकेपछि सो जमिनमा छ फिट माटो पुर्ने भारतीय पक्षले जनाएको छ। डेढ वर्षभित्र रेल्वे स्टेसनसहित बाँकी काम सम्पन्न गर्ने भारतीय पक्षको तयारी छ । 

भारतको पूणिर्यादेखि मोरङको कटहरीसम्म १८ किलोमिटर लामो रेल्वे संरचना मध्ये पूणिर्यादेखि विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित एकीकृत जाँच चौकीसम्मको १० किलोमिटरमा रेल्वेको सबै संरचना निर्माण सम्पन्न भए पनि रेल सञ्चालन भएको छैन । 

२०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्दा औद्योगिक कच्चा पदार्थ बोकेर एउटा कार्गो रेल एकीकृत जाँचचौकीसम्म आएयता फर्केर अर्को रेल आएको छैन । 

निर्माण सम्पन्न भएर उद्घाटनसमेत भएको दुई वर्षसम्म पनि रेल नआएको पृष्ठभूमिमा कटहरीसम्म रेल्वे विस्तार भए पनि रेल आउनेमा सर्वसाधारणले भने आशङ्का गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.