सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले संघीय राजधानी काठमाडौंमा आयोजना गरेको ४ दिने एकीकृत सेवा शिविरमा ५ हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन्।
एकीकृत सेवा शिविरबाट काठमाडौंमा बस्दै आएका ५ हजार ३ सय ३५ नगरबासीले सेवा लिएको प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । वर्षायाममा जिल्लामै पुगेर नागरिकलाई सेवा लिन कठिनाइ भएका नागरिकलाई मध्यनजर गर्दै काठमाडौंमा शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
शिविरबाट नगरपालिकाले १३ लाख ४५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिका स्थायी ठेगाना भई काठमाडौंमा अस्थायी रूपमा बसोबास गरिरहेको करिब २० प्रतिशत जनसंख्यालाई नगरपालिकाले सेवा दिएको हो ।
पन्जीकरण सम्बन्धी सबै काम, नगरपालिकाले दिने सबै सिफारिस र सेवा प्रवाह सम्बन्धी काम गरिएको प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो ।